Hamro Sanchar

माओवादी केन्द्र र एकीकृत समाजवादीको घोषणापत्रमा शिक्षा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ कात्तिक, १५ गते


Advertisement

काठमाडौं, कात्तिक १५- सत्ता गठबन्धनमा आबद्ध दुई ठूला दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले शिक्षामा २० प्रतिशत बजेट बढाउनेदेखि लिएर कक्षा ३ सम्म मातृभाषामा पठनपाठन, सबैका लागि गुणस्तरीय शिक्षालगायत शिक्षासम्बन्धी डेढ दर्जन विषयमा प्रतिबद्धता सार्वजनिक गरेका छन् । दुवै पार्टीले सोमबार आ–आफ्नो पार्टी मुख्यालयमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै उक्त प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

माओवादी केन्द्रले घोषणापत्रमा शिक्षक र निजामती कर्मचारीको सेवासुविधामा रहेको विभेद पूर्णतया अन्त्य गरी एकरूपता कायम गरिने, विद्यालय तहमा कार्यरत कर्मचारीको सेवा, सर्त र सुविधालाई व्यवस्थित गरी उनीहरूका समस्याको समाधान गरिने पनि उल्लेख गरेको छ । घोषणापत्रमा भनसुन र दलका नेताको आडमा रोजगारी पाएका त्रिभुवन विश्वविद्यालयका आंशिक शिक्षकलाई करार तथा स्थायी गराउने प्रक्रिया अगाडि बढाइने पनि उल्लेख छ ।

शिक्षालाई गुणस्तरीय, रोजगारमूलक, जीवन उपयोगी र सर्वसुलभ तुल्याउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार गर्ने, ६ महिनाभित्र संघीय शिक्षा ऐन जारी गर्ने जस्ता महत्वाकांक्षी विषय पनि प्रतिबद्धतापत्रमा समेटिएको छ । पाँच वर्षअघि सार्वजनिक गरेको घोषणापत्र कार्यान्वयन नभएको अवस्थामा पुनः आश्वासन लिन नयाँ विषय थप गरेर घोषणापत्र जारी गरिएको हो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।


प्रतिकृया दिनुहोस्