
काठमाडौं, कात्तिक १४- हिन्दू धर्मावलम्बीले छठ पर्व आज (सोमबार) उदाउँदो सूर्यलाई अर्घ दिएर धुमधामसँग समापन गरेका छन् । दुलहीझैँ सिंगारिएका यहाँ नदी, ताल, तलैया, पोखरीमा निर्माण गरिएका छठ घाटमा गएर श्रद्धालुहरुले उदाउँदो सूर्यको पूजा गरेर समापन गरेका हुन् ।
नयाँ डालोमा ठेकुवा, कसार, उँखुको टुक्रा, नरिवल, केराउ, अक्षता, केरा, निबुआ, मूला, अन्य फलफूल, अदुवा लगायत दर्जनौँ सामग्री राखेर छठ घाटमा पुगेका ब्रतालु एवम् श्रदालुहरुको छठ घाटहरुमा सहभागिता रहेको थियो ।
व्रतालुहरुले सूर्य उदाँउन थालेपछि जलाशयको जललाई छोएर सूर्यलाई अर्घ दिएका थिए । छठ घाटमा सबै उमेर समुहका मानिसहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर ब्रतालुहरुले आज बिहान पुनःउदाउँदो सूर्यलाई अर्घ दिएर छठ ब्रतको समापन गरेका हुन् । ब्रतको समापनपछि छठको प्रसाद साटासाट गर्ने, एकअर्कालाई तेल लगाउने, गाजल लगाउने, कोसेली साटासाट गर्ने चलन रहेको छ । यस दिनलाई पारन भनिन्छ ।
व्रतको समापन भएपछि छठको कोसेली दिदीबहिनी कहाँ दाजुभाइले लिएर जाने चलन रहेको छ ।


















