जनकपुरधाम, असोज २८- मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका मन्त्रीहरूलाई बर्खास्त गरेका छन् ।
संघीय सरकारमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूलाई हटाएको बदलामा राउतले प्रदेश सरकारमा रहेका कांग्रेसका तीन जना मन्त्रीलाई शुक्रबार हटाएका हुन् ।
प्रदेश सरकारमा कांग्रेसका रामसरोज यादव भौतिक पूर्वाधार तथा यातायात, वीरेन्द्र सिंह महिला बालबालिका तथा खेलकुद र ओमप्रकाश शर्मा खानेपानी तथा ऊर्जा मन्त्री थिए ।
मुख्यमन्त्री राउतले बिहीबार बेलुका नै तीनै जनालाई फोन गरी राजीनामा गर्न आग्रह गरे पनि नमानेपछि तीनै जनालाई बर्खास्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
रिक्त भएका तीनै मन्त्रालय अब मुख्यमन्त्रीले सम्हाल्ने भएका छन् ।
सत्ता गठबन्धनकै अरू दुई घटक नेकपा (एकीकृत समाजवादी) र माओवादीका मन्त्रीलाई भने मुख्यमन्त्री राउतले निरन्तरता दिएका छन् ।
मधेस प्रदेशमा जसपा‚ नेपाली कांग्रेस‚ नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को संयुक्त सरकार थियो ।
माओवादी केन्द्रका तर्फबाट भरतप्रसाद साह गृह तथा सञ्चार मन्त्री र रूबी कर्ण राज्यमन्त्री छन् । त्यसैगरी एकीकृत समाजवादीका तर्फबाट शत्रुधन महतो उद्योग‚ वन‚ पर्यटन तथा वातावरण र प्रमोद यादव प्रदेश सभा तथा कानुन मन्त्री छन् ।