दाङ, असोज २१- नेकपा एमालेकी नेतृ गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । विहीबार फेसबुकमा एक स्टाटस लेख्दै थारूले टिकट नपाएपछि दाङ क्षेत्र नं १ बाटै स्वतन्त्र चुनाव लड्ने घोषणा गरेकी हुन् ।
चौधरी दाङ १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुने दौडमा थिइन् । तर एमाले नेतृत्वले रेवतीरमण शर्मालाई उमेदवार बनाउने तयारी गरेपछि चौधरी असन्तुष्ट बनेकी हुन् । तर आफूले एमालेको सदस्यताबाट राजीनामा भने दिइनसकेको उनले बताइन् ।
उनले भनेकी छिन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक, मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहनेछु । जनता भगवान हुन् जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदैछु । हजुरहरुको साथ चाहिएको छ ।’
यसअघि थरूहट तराई पार्टी नेपाल तथा एमालेबाट गरी गंगा सत्गौवा दुइ पटक समानुपातिक सांसद भएकी थिइन् ।