Hamro Sanchar

बागमतीमा कात्तिकबाट सफा पानी बग्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असोज, ३ गते


Advertisement

काठमाडौं, असोज ३- बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आगामी कात्तिकट बागमती नदीमा सफा पानी बग्ने भएको छ ।

काठमाडौं उपत्यकाकै (काठमाडौं, ललितपुर र भक्तपुर) आकर्षक बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएको हो । गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा पर्ने बागमती धाप परियोजनामा जम्मा गरिएको पानी आगामी असोज २९ गतेपछि बागमती नदीमा पठाउने तयारी भइरहेको छ । समुन्द्री सतहबाट दुई हजार ८० देखि ९० मिटरको उचाईमा मानव निर्मित यति ठूलो पोखरी नेपालमै पहिलो भएकाले पनि यसलाई आकर्षक मान्ने गरिएको छ ।

साथै यो धाप नेपालमै पहिलो सीएफआरडी ड्याम पनि हो । उपत्यकाको उत्तरपश्चिम चुचुरो मुलखर्क गाउँको सिरानमा बनिरहेको कृत्रिम ताल निर्माणको लागत ४५ करोड रुपैयाँ हो । यो ताल आठ हेक्टर अर्थात् १५८ रोपनीमा फैलिएको छ । सन् २०१५ देखि ड्यामको काम शुरु गरिएको थियो । यो धापमा २४ मिटर अग्लो बाँध हुने र बाँधमा वर्षा याममा परेको पानी र विभिन्न जलाधार क्षेत्रबाट आएको पानी संकलन गरिनेछ ।

यो क्षेत्र आफैँमा धाप क्षेत्र पनि हो । निर्माण हुँदै गरेको धाप बाँधले सुख्खायाममा प्रतिसकेण्ड ४० लिटरका दरले बागमतीमा आठ महिनासम्म पानी छोड्न मिल्नेछ । ढलको व्यवस्थापन प्रभावकारी हुनसके र सँगसँगै फोहोर व्यवस्थापन भएको खण्डमा त्यसले बागमतीको शिरदेखि चोभारसम्म नै सफा पानी बग्नेछ । आयोजनाका प्रमुख इन्जिनियर निश्चल छत्कुलीले काठमाडौं उपत्यकामा पानीको उपलब्धता र पानीको गुणस्तर दिनानुदिन घट्दै गइरहेको अवस्थलाई मध्येनजर गरेर धाप निर्माण गरेको बताए ।

उनले बागमतीमा पानीको वहाव र पानीको गुणस्तर बढाउनको लागि विभिन्न स्थानमा धापहरुको निर्माण गरी स्नानयोग्य बनाउने उद्देश्यले धाप निर्माण गरेको बताए । उनले हालसम्म ९८ प्रतिशत काम सम्पन्न भएको बताए । धापबाट बागमतीमा पानी पठाइसकेपछि पनि नुहाउनयोग्य बनाउनको लागि ४५० लिटरजति सफा पानी मिसाउनुपर्ने जायिकाको अध्ययनले देखाएको बताए । एशियाली विकास बैंकको ऋण सहयोगमा यो अभियान शुरु भएको हो । उनले मुख्य ड्याम र सहायक ड्यामहरु पनि निर्माण भइ पानी जम्मा गर्न शुरु गरिएको बताए । शुरुमा ८ लाख ५० हजार घनमिटर जति पानी जम्मा गर्न सकिन्छ भने पनि अहिले त्यो भन्दा धेरै मात्रामा जम्मा गर्न सकिने कुरा अध्ययनले देखाएको छ ।


प्रतिकृया दिनुहोस्