मोरङ, भदौ २२- नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो पार्टी प्रतिनिधिसभाको २४ सिटभन्दा तल नझर्ने बताएका छन् ।
विराटनगरमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले सिट बाँडफाँडको न्यूनतम आधार र मापदण्ड तय गरेअनुसार आफ्नो पार्टीले २४ सिटभन्दा माथि लिने दाबी गरेका हुन् ।
स्थानीय तहको निर्वाचनका क्रममा गठबन्धन दल काँग्रेस र माओवादीले आफ्नो पार्टीलाई धोका दिएको विषयमा गम्भीर समीक्षा भएको र अब धोका नदिने दुवै पार्टीले प्रतिबद्धता जाहेर गरेको कारण एकीकृत समाजवादी पनि गठबन्धनलाई विश्वास गरेर अघि बढ्न लागेको उनले बताए । उनले प्रदेश १ का २८ निर्वाचन क्षेत्रमध्ये ६ वटा क्षेत्रमा आफ्नो पार्टीको दाबी रहने पनि बताए ।
अर्को प्रशंगमा उनले गठबन्धन भित्रका कम्युनिष्ट पार्टीहरूसँग एकता र सहकार्यको सम्भावना रहेपनि एमालेसँग कुनै सहकार्यको सम्भावना अहिले नरहेको बताए ।