काठमाडौं, भदौ २७- राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो ।
बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको परीक्षा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याए ग्रेड सिटमा एनजी अर्थात् (नन ग्रेडिङ) उल्लेख हुनेछ ।
यस्तो व्यवस्था बोर्डले पहिलो पटक लागू गरेको हो । एनजी उल्लेख हुनेले उच्च शिक्षामा भर्ना पाउँदैनन् । दुई विषयमा मात्रै एनजी भए ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ । सार्वजनिक नतिजाअनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या चार हजार एक सय ७९ रहेको छ । यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउनेको सङ्ख्या ३० हजार एक सय सात जना, २.८१ देखि ३.२० जीपीए ल्याउनेको सङ्ख्या ६५ हजार दुई सय ८४ रहेको छ ।
परीक्षा बाेर्डका अनुसार २.४१ देखि २.८० जीपीए ल्याउनेको सङ्ख्या ६४ हजार ९३, २.०१ देखि २.४० जीपीए ल्याउनेका सङ्ख्या १० हजार नाै सय र १.६१ देखि २.० जीपीए ल्याउनेको सङ्ख्या ३५ मात्रै छ । नन ग्रेडिङ ल्याउनेकाे सङ्ख्या एक लाख ८८ हजार चार सय १० रहेकाे छ । यस पटक पास हुन प्रयोगात्मकमा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशतभन्दा बढी अङ्क ल्याउनुपर्ने बोर्डले जनाएको छ । त्योभन्दा कम ल्याउनेले पुनः परीक्षा दिनुपर्नेछ ।
यसरी हेर्न सकिन्छ नतिजा–
वेबसाइट:
राष्ट्रिय परीक्षा बाेर्डकाे वेबसाइट : www.neb.gov.np
नेपाल टेलिकमकाे वेबसाइट : www.neb.ntc.net.np
एसएमएस सेवा:
नेपाल टेलिकमकाे १६०० मा एमएमएस गर्ने तरिका : NEB <space> Symbol No. टाइप गरी १६०० मा एसएमएस गर्ने ।
आईभीआर सेवा:
नेपाल टेलिकमकाे १६०१ नम्बरमा डायल गरी प्राप्त नतिजाअनुसार नतिजा प्राप्त गर्न सकिनेछ ।