काठमाडौं, भदौ १७- प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले सोधेका प्रश्नलाई निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘अर्थ न बर्थ गोविन्द गाई’को संज्ञा दिएका छन् । उनले आफूले संविधान र कानुनविरुद्ध गरेको भनिएका कामको विषयमा एकएक जवाफ समितिसँग मागेका छन् ।
समितिको बैठकमा दोस्रो दिन बिहीबार पनि बयान दिन उपस्थित जबरालाई ५ र ६ नम्बरका प्रश्न सोधिएको थियो । उनले बुधबार १ देखि ४ नम्बरसम्मका प्रश्नको जबाफ दिएका थिए ।
प्रश्न नम्बर ५ को उत्तर दिँदा जबराले ‘अर्थ न बर्थ’ भन्दै आफूमाथि लगाइएका आरोप निराधार भएका टिप्पणी गरे । संवैधानिक जिम्मेवारीलाई निजी सम्पत्तिसरह दुरुपयोग गरेको भनी सोधिएको प्रश्नमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले भने, ‘यो प्रश्न अलि भेग छ, यो कुरा बुझ्ने अवस्था छैन। कोभिडसम्बन्धी रिट दर्ता गर्ने व्यवस्था गराएकाले यो भन्न खोजिएको हो ? सोही अनुरूपको कर्तव्य पालना गर्न पूर्ण विफल भएको भन्न खोजिएको हो ?’