गुल्मी, भदौ १४- जन्मिने बेलै स्वस्थ थिएनन् । उमेर बढ्दै गयो तर अन्य बालबालिकाभन्दा फरक लाग्न थाले । यो समस्या यी बालकले सात/आठ वर्षदेखि नै झेल्दै आएका छन् ।
गुल्मी सत्यवती गाउँपालिकाका–५ हँसराका ११ वर्षीय रामु बुढाथोकीलाई अहिले पछ्यौराको दाम्लोमा झोलुंगो बनाएर बाँधेर राखिएको छ । आर्थिक अभावले उपचार गर्न नसकेपछि अभिभावक उनलाई पछ्यौराको दाम्लोमा बाँध्न बाध्य छन् ।
आमा देउकुमारीले छोरा सम्हाल्न नसकेपछि १७ वर्षदेखि भारतमा मजदुरी गरिरहेका श्रीमान् कमललाई घरमै बोलाइन् । बालक रामुलाई उपचारका लागि बुटवल आम्दा, नेपालगन्ज हुँदै भारतसम्म पुर्याइयो । तर, कत्ति पनि निको भएन ।
रामु आफैंलाई चिर्थोर्ने र कोपरेर शरीरलाई दुःख दिइरहन्छन् । त्यो उनलाई थाहै हुन्न । हिँड्न सक्छन् । नजिकमा विद्यालय पनि छ । तर, अहिलेसम्म विद्यालयको अनुहार देखेका छैनन् । होसमै छैनन्, रामु । अरूलाई बिगार गर्दैनन् । तर, आफैंले आफैंलाई निकै चोट दिइरहेका हुन्छन् ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।