काठमाडौं, भदौ ६- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।
छलफलमा पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ ।
एकीकृत समाजवादीले पार्टी एकता समायोजन समिति बनाउने निर्णय गरेपछि माओवादी केन्द्रसँग पहिलो पटक वार्ता भएको थियो ।
प्रचण्डको एक नातेदारको हात्तीवनस्थित घरमा भएको भेटमा छिट्टै पार्टी एकता संयोजन समिति बनाउने सहमति भएको हो । बैठकमा आगामी प्रदेश र प्रतिनिधि निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर जानसमेत दुवै दल सहमत भएका छन् ।
२०७४ मा वाम गठबन्धन गरेको एमाले र माओवादी केन्द्रले पनि एउटै चुनावी घोषणा पत्र बनाएका थिए । आउँदो चुनावी रणनीति, सिट बाँडफाँट, कांग्रेससँगको तालमेल, अरु दलसँगको गठबन्धनलगायत विषयमा कुराकानी भएको थियो ।
भेटमा प्रचण्ड र माधव नेपालसँगै माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल सहभागी थिए ।