काठमाडौं,भदौं ३- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन सरकारले जनताका कुरा नसुन्ने बताएका छन् । नेपाल स्वतन्त्र मजदुर संगठन दमक नगर कमिटीको तेस्रो अधिवेशनलाई शुक्रबार झापामा सम्बोधन गर्दै अध्यक्ष ओलीले यसो भनेका हुन् ।
औपचारिक, अनौपचारिक सबै वर्ग, क्षेत्र र समुदाय, मानवीय विकास, रोजगारीको अवसर, शिक्षा, स्वास्थ्यको लागि एमाले सरकार आवश्यक रहेको पनि उनले बताए । ‘एमालेको सरकार हामी यस पटक निश्चित रूपमा बनाउँछौँ, चाहे गठबन्धन जोसुकैले गरुन्, जेसुकै गरुन्, उनले भने, गठबन्धनमा जनता सामेल छैनन्, गठबन्धनमा नेता मात्रै छन् ।’
सत्ता गठबन्धन विकासविरोधी आपराधिक भएको ओलीले दाबी गरे । ‘जनताले भ्रष्ट नेताहरूको आपराधिक गठबन्धनलाई अस्वीकार गर्छन्, उनले भने, देशको अहितमा, देशविरुद्ध निर्माण गरिएको प्रगतिविरोधी, विकासविरोधी, मजदुर किसानविरोधी, गरिवविरोधी, सुकुम्वासीविरोधी यस गठबन्धनलाई पराजित गरेर एमालेको सरकार बनाउनु पर्दछ ।’