Hamro Sanchar

पशुपती मन्दिर पुगे पर्यटन मन्त्री श्रेष्ठ, दिए यस्तो निर्देशन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, २१ गते


Advertisement

काठमाडौं, साउन २१- संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री जीवनराम श्रेष्ठले पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षण गरेका छन् । मन्त्री श्रेष्ठले पशुपति क्षेत्र भित्रका विभिन स्थानमा पुगी त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिएका हुन् ।

मन्त्री श्रेष्ठले पुनर्निर्माण भइरहेका सम्पदा स्थलहरु, विश्वरुपा मन्दिर, मृगस्थली, शेल्षमान्तक वन, विभिन्न म्याथ मन्दिर, स्तूप, सत्तललगायत स्थलको हिँडेरै अवलोकन गरेका हुन् । सो अवसरमा श्रेष्ठले पशुपति क्षेत्र तथा मन्दिर परिसरको सरसफाईमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देश दिएका थिए । साथै उनले भक्तजन, तीर्थयात्री, पैदलयात्री एवम् पर्यटकलाई सहज हुने गरी सबै प्रबन्ध मिलाउन निर्देशन दिए ।

मृगस्थली क्षेत्रमा अवस्थित लिच्छवीकालीन विश्वरूपा मन्दिर पुनर्निर्माणको अवस्थाबारे पनि उनले जानकारी लिए । सांस्कृतिक एवम् पुरातात्विक महत्वको पशुपति क्षेत्र खुला संग्रहालयको रूपमा रहेको बताउँदै उनले सुरक्षा, संरक्षण र सरसफाईमा ध्यान दिनुपर्ने बताए । मन्त्री श्रेष्ठले घाट व्यवस्थापनबारे पनि जानकारी लिँदै पानी, बिजुली तथा सार्वजनिक शौचालय व्यवस्थापन गरी सहज सेवा प्रवाह गर्न निर्देशन दिए । सरकारले पशुपति क्षेत्र सुधार कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समेत राखेको छ । त्यसैअनुसार पशुपति क्षेत्रको बृहत्तर सुधार कार्यक्रम तथा पुनःनिर्माण कार्य भइरहेको कोषका सदस्य सचिव डा. मिलन कुमार थापाले बताए ।


प्रतिकृया दिनुहोस्