Hamro Sanchar

नेपालीको अवस्थाबारे बुझ्न जापान आएको हुँ- प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, २१ गते


Advertisement

काठमाडौं, साउन २१- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू जापानमा रहेका नेपालीको अवस्थाबारे बुझ्ने आएको बताएका छन् ।

शनिबार बिहान टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जापानमा बस्ने नेपालीको लागि नेपालले के गर्न आवश्यक छ त्यसको अध्ययन गर्ने बताए ।

नेपाल र जापानको सम्बन्ध धेरै पुरानो भएको भन्दै उनले जापान नेपालको प्रमुख ‘डोनर कन्ट्री’ भएकोसमेत स्मरण गरे ।

आफ्नो र राष्ट्रिय सभा अध्यक्षको भ्रमणले दुई देशबीचको सम्बन्ध विस्तारमा थप सहयोग पुग्ने प्रचण्डले विश्वास लिएका छन् ।

हाम्रो लागि जापान प्रेरणाको मुख्य स्रोत भएको बताएका छन् ।

‘जापान हामी सबैका निम्ति एउटा प्रेरणाको स्रोत पनि हो । कसरी युद्धबाट तवाहा बनाइएको देश, आफ्नै खुट्टामा उभिएर, आफ्नै मेहनतले यति माथि आउनसक्दो रहेछ भन्ने कुराको उदाहरण जापान हो,’ उनले भने ।

यसैबीच प्रचण्डले हालै संसदबाट नागरिकता विधेयक पारित गराएको भन्दै एनआरएनएको हितमा यसले काम गर्ने बताए । उनले नेपालभित्र विकासको नयाँ प्रक्रियाको सुरुवात भयो भन्ने सन्देश दिन सके नेपाली फर्कने उनको भनाइ छ ।

‘मेरो ध्यान आउनुहोस् फर्कनुहोस् भनेर फर्कने स्थिति हुँदैन । त्यहाँ त्यस्तो भौतिक र राजनीतिक आधार बनाइदिनु पर्‍यो जसले नेपालीहरू स्वतः आफ्नो ज्ञान सिप र सम्पती लिएर स्वदेश फर्कने वातावरण बनोस्’, उनले भने ।

प्रचण्डले जापान भ्रमणका क्रममा जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई भेट्ने इच्छा रहेपनि पूरा हुन नसकेको बताए ।
उनले आबेलाई भेट्ने इच्छा भए पनि भेट्न नपाएको बताएका हुन् ।

आबे र आफ्नो पूर्व प्रधानमन्त्रीका हैसियतले पटकपटक वार्ता भएको स्मरण गर्दै उनले यसपटकको भ्रमणमा जापानमै भेट्ने इच्छा भएको र यसको तयारी गरे पनि उनले त्यो पूरा हुन नपाएको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ‘प्रचण्ड’ शनिबार बिहान जापान पुगेका हुन् ।

उनलाई जापानका लागि नवनियुक्त नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीसहित एनआरएनका पूर्वअध्यक्ष भवन भट्टलगायतले विमानस्थलमा स्वागत गरेका थिए ।

पाँच दिने भ्रमणका लागि सचिवालय टोलीसहित प्रचण्ड राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार राति जापान प्रस्थान गरेका थिए ।

अध्यक्ष दाहालले आज फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको समुद्घाटन गर्नेछन् ।

दाहाल जापानमा रहँदा जापानमा केही राजनीतिक भेटघाटसमेत गर्नेछन् । दाहाल साउन २५ गते स्वदेश फर्किने छन् ।


प्रतिकृया दिनुहोस्