Skip
आज : २०८२ कार्तिक २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मधेस प्रदेश : साइकल खरिद गर्दा १० करोड घोटाला

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, १९ गते


काठमाडौं, साउन १९- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मधेस सरकारको ‘बेटी पढाऊ, ‘बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन प्रदेश सचिवसहित आठ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

छात्राको नाममा साइकल खरिद गर्दा १० करोडभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको ठहर छ । बुधबार अख्तियारले तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल, सिनियर डिभिजनल इन्जिनियर भगवान झा, सहलेखापाल राजाराम मण्डल, जिन्सी शाखाका अधिकृत रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जित मोहनकुमार दासविरूद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले खरिद प्रक्रियामा संलग्न रहेको आरोपमा बोलपत्र मूल्यांकन समितिका पदाधिकारीविरूद्ध पनि मुद्दा दायर गरेको छ । समितिका अध्यक्ष उपसचिव दिलिपकुमार प्रधान, सदस्यसचिव आठौं तहका अधिकृत सुरेन्द्र कुमार कर्णविरूद्ध मुद्दा दायर गरिएको छ । त्यस्तै, ओमसत्य साई प्रालि वीरगञ्जकी म्यानेजिङ डाइरेक्टर रेनु अग्रवालविरूद्ध पनि विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका तत्कालीन प्रदेश सचिव भुसालले गुणस्तरहीन लेडिज साइकलको आपूर्ति स्वीकार गरी भुक्तानी गरेर प्रदेश सरकारलाई १० करोड ३३ लाख ७५८ रूपैयाँ नोक्सानी दाबी गरेको छ । साइकल खरिदको निर्देशन दिने मुख्यमन्त्री लालबाबु राउत र प्रमुख सचिव गोकर्णमणि दुवाडीलाई भने अख्तियारले उन्मुक्ति दिएको छ ।


प्रतिकृया दिनुहोस्