काठमाडौँ, साउन १५- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनावअघि कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन् ।
एकीकृत समाजवादी डोटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनमा गठबन्धनकै कारण आफ्नो पार्टीलाई घाटा भएकोले निर्वाचनअघि कुनै पनि पार्टीसँग एकता नहुने बताएका हुन् ।
‘गठबन्धनले पार्टीलाई घाटा भयो, यदि हामीले आफ्नै बलमा चुनाव लडेको भए १०० भन्दा बढी पालिकामा जित हुन्थ्यो, उनले भने । ’ त्यसैले अबको संघ र प्रदेशको निर्वाचनमा एक्लै लड्ने र सबै क्षेत्रमा उम्मेदवारी पनि दिने उनको भनाइ छ । उनले गठबन्धनमा जालझेल भएको र गठबन्धनका अन्य दलहरूमा इमानदारिता नदेखिएको बताए ।
त्यस्तै ‘हामीले स्थानीय निर्वाचन हेरेका छौं, गठबन्धन भनेर मात्र हुँदैन सबै बफादर हुनुपर्छ, तर स्थानीय निर्वाचनमा त्यस्तो देखिएन, उनले भने ।’