Hamro Sanchar

तोकेभन्दा बढी शुल्क लिएर वैदेशिक रोजगारीमा नपठाउन मन्त्रालयको चेतावनी

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, १२ गते


Advertisement

काठमाडौं, साउन १२– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तोकेको भन्दा बढी शुल्क लिएर वा फर्जी कागजात बनाएर वैदेशिक रोजगारीमा नपठाउन सम्बन्धित म्यानपावर कम्पनीलाई निर्देशन गरेको छ । आज मन्त्रालयले एक प्रेष विज्ञप्ति जारी गर्दै पछिल्लो समय यस्ता खाले ठगी बढेको भन्दै यस्तो नगर्न सचेत गराएको हो ।

नियमअनुसार मलेसिया लगायत खाडी देशमा शून्य लागतमा कामदार पठाउनुपर्नेमा ठूलो रकम लिएर पठाउने गरेको, गलत तवरले रकम असुल्ने गरेको, कामदारको फर्जी मेडिकल जाँच गरेको मन्त्रालयले जनाएको छ । यस्तै, विदेश जानुपूर्व अनिवार्य रुपमा लिनुपर्ने अभिमुखीकरण तालिममा सहभागी नभएकाहरुलाई पनि सहभागी भएको भनेर कागज पेस गर्ने लगायतका विकृतिहरु बढेको भन्दै आफ्नो ध्यानाकर्षण भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

यस्ता गैरकानुनी र अमर्यादित क्रियाकलाप नियन्त्रणको लागि मन्त्रालय तथा विभागबाट शुक्ष्म रुपमा अनुगमन र अनुसन्धान भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

यदि कसैलाई विदेश पठाउन कुनै म्यानपावर वा व्यक्तिले रकम मागेमा, फर्जी कागजात बनाउन लगाएमा, ठगीमा परेमा वा वैदेशिक रोजगार सम्बन्धी समस्यामा परेमा मन्त्रालयको कल सेन्टरमा सम्पर्क गर्न सकिन्छ ।

मन्त्रालयमा रहेको कल सेन्टर ११४१ र १६६००१५०००५ तथा फेसबुक पेज www.facebook.com/molcallcenter र वैदेशिक रोजगार विभागको नम्बर ०१४७९२६४८ मा सम्पर्क गरेर आफ्ना गुनासो तथा उजुरी टिपाउन सकिने पनि मन्त्रालयले जनाएको छ ।

 


प्रतिकृया दिनुहोस्