
काठमाडौं, साउन ११– नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका अफरसहितको नि:शुल्क सिम दिने भएको छ । टेलिकमले देशभरका कार्यालयहरुबाट अफरसहितको नि:शुल्क सिम उपलब्ध गराउने भएको हो ।
विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने पुरानै सिममा विभिन्न अफरहरु उपलब्ध गराउने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।
नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र वा मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ ।
सिम लिइसकेपछि नयाँ मोबाइल नम्बरबाट *1600# मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्दछ ।
एसईईका विद्यार्थीले नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १ सय एमबी डेटा प्रयोग गर्न सकिने छ । यस अनुसार ३० दिनसम्म ३ हजार एमबी डेटा, ३ सय मिनेट टकटाइम र ३ सय वटा एसएमएसको सुविधा प्राप्त हुनेछ ।
यो अफर भएको नयाँ सिममा बोनस अन रिचार्ज प्याक समेत उपलब्ध गराइएको छ । यस प्याकमा ५० रुपैयाँ र ५० भन्दा धेरैको रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डेटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ ।