
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले अत्याधुनिक दमकल (बारुणयन्त्र) ल्याएको छ । नगरप्रमुख उपेन्द्र कार्कीको विशेष पहल तथा जापान सरकारको सहयोगमा बिहीबार एउटा अत्याधुनिक दमकल ल्याइएको हो ।
ग्रासरुट मानव सुरक्षा परियोजनाहरूको लागि अनुदान सहायतामार्फत नेपालस्थित जापान राजदूतावासले उपलब्ध गराएको नगरप्रमुख उपेन्द्र कार्कीले जानकारी दिए । यो परियोजना नगरपालिकाको विशेष पहल तथा दीपक चापागाईंको नेतृत्वमा सञ्चालित भोलिन्टियर कोर्प्स नेपाल (भीसीएन)मार्फत अघि बढाइएको हो ।
नगरपालिकाका अनुसार उक्त दमकल आउँदो सोमबार नेपालका लागि जापानी राजदुत टोरु मेडाले औपचारिक रूपमा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
हस्तान्तरण पश्चात दमकल चौबीसै घण्टा परिचालनमा रहने छ । दमकलमा अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ । दमकल नगरका बाटोको बनावटअनुसार सानासाना गल्लीमा समेत पुग्न सक्छ । दमकलमा पानी र फोम दुवै प्रकारको प्रणाली रहेको छ । भने उक्त दमकलले ५ देखि ६ तलासम्मको भवनमा आगो निभाउन सक्छ ।
नगरप्रमुख कार्कीले जापान सरकार र नेपालस्थित जापान दूतावासप्रति हार्दिक आभार प्रकट गर्दै यो साझेदारीले नेपाल–जापानबीचको जनस्तरीय मित्रता र आपसी सहयोगको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
यस दमकलले छिमेकी गोकर्णेश्वर, शंकरापुर, भक्तपुर र बुढानिलकण्ठ नगरमा पनि प्रत्यक्ष लाभ पुग्छ ।


















