काठमाडौं, साउन ११- प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालयको उद्घाटन गर्ने भएका छन् ।
भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन हुने भएको हो ।
रासस केन्द्रीय कार्यालयमा आयोजना हुने विशेष समारोहमा आज बिहान प्रधानमन्त्री देउवाले भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
विसं २०७२ को विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त रासस भवन तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट प्राप्त १६ करोड ८६ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।
प्रधानमन्त्री देउवाबाटै २०७४ कात्तिक ९ गते शिलान्यास भएको ‘ब्लक ए’ र ‘ब्लक बी’ भवनमा ५४ कोठा छन् ।
चारतले यी भवनबाट राससको व्यवस्थापनसहित सबै सेवा सञ्चालन हुनेछ ।
स्वदेश तथा विदेशका सत्यतथ्य, सन्तुलित र आधिकारिक समाचार सम्प्रेषण गरी नागरिकलाई सुसूचित गर्ने उद्देश्यले नेपाल संवाद समिति (नेसस) र सगरमाथा संवाद समिति (ससस) एकापसमा गाभिएर विसं २०१८ फागुन ७ गते राष्ट्रिय संवाद समिति (रासस) को स्थापना भएको हो ।