काठमाडौं, साउन ९- चितवनमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले आफ्नी श्रीमती ३५ वर्षीय रुष्मा आचार्यलाई आइतबार राति खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कृष्णप्रसादले आफ्नै घरको ३ तलामाथि रहेको बैठक कोठामा श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए । तीन तलामाथिबाट हाम फालेर भाग्न खोज्दा कृष्णप्रसादको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट गम्भीर घाइते रुष्माको उपचारका लागि पुरानो मेडिकल कलेज लैजाँदा मृत्यु भएको हो भने घाइते भएका कृष्णप्रसादको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आइतबार राति नै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
रुष्मा राष्ट्रिय मावि तोरीखेतमा शिक्षण गर्थिन् । श्रीमान् भने कतार बस्थे । दुईसाता अघि मात्रै घर आएका उनको श्रीमतीसँग विवाद परेको थियो । विवाद चर्किंदै जाँदा उनीहरू सम्बन्ध विच्छेदको प्रक्रियामा समेत रहेको आफन्त बताउँछन् । उनीहरूका १२ वर्षीया छोरी छन् ।