Hamro Sanchar

वैदेशिक रोजगारीमा जानेको संख्यामा नयाँ रेकर्ड

प्रकाशित : २०७९ साउन, १ गते


Advertisement

काठमाडौं, साउन १- गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या पछिल्लो छ वर्षकै उच्च संख्या रहेको वर्ष भएको छ । यस आर्थिक वर्षमा ६ लाख २८ हजार ५ सय ३ नेपाली वैदेशिक रोजगारीको क्रममा विभिन्न देश पुगेका छन् । वैदेशिक रोजगार विभागले पछिल्ला आर्थिक वर्षको विवरण सार्वजनिक गर्दै रोजगारीको नयाँ रेकर्डको विवरण दिएको हो । विभागले सार्वजनिक गरेको प्रतिवेदनमा यो अंक गत वर्षको तुलनामा ४ लाख ६१ हजार ८ सय ५ ले बढी हो । आर्थिक वर्ष ०७३–०७४ मा ६ लाख ४२ हजार ८ सय ५९ वैदेशिक रोजगारीमा गएका थिए भने २०७४–७५ मा ६ लाख १२ हजार ६ सय ८५ले नेपाली श्रम स्वीकृति लिएका थिए ।

आर्थिक वर्ष २०७५–७६ मा ५ लाख ८ हजार ८ सय २८ वैदेशिक रोजगारीमा गएका थिए भने २०७६–७७ मा ३ लाख ६८ हजार ४ सय ३३ नेपाली वैदेशिक रोजगारीमा गएका थिए । कोभिडका कारण थला पर्दै गएको वैदेशिक रोजगारीको क्षेत्रमा आर्थिक वर्ष २०७७–७८ मा भने १ लाख ६६ हजार ६ सय ९८ मात्र नेपाली वैदेशिक रोजगारीका लागि विदेश पुगेको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिनुभयो । यसरी श्रम स्वीकृत लिएर जाने देशमा सबैभन्दा बढी साउदी अरेबिया रहेको छ । यस देशमा यस आर्थिक वर्षमा १ लाख ८८ हजार ३ सय ९८ नेपाली वैदेशिक रोजगारीका लागि पुगेका छन् । त्यस्तै यसै आर्थिक वर्षमा वैदेशिक रोजगारीमा नेपाली जाने दोस्रो मुलुक कतार बनेको छ ।

यस देशमा १ लाख ८४ हजार ५ सय ३ नेपाली रोजगारीका लागि गएका छन् भने नेपाली भित्र्याउने तेस्रो देश युएई बनेको छ ।यस देशमा १ लाख २२ हजार ३ सय ६६ नेपाली रोजगारीको लागि पुगेका छन् । तर, महिला नेपाली कामदार भित्र्याउने पहिलो देश भने युएई बनेको छ । यस देशमा २१ हजार १ सय १० महिला श्रमका लागि पुगेका छन् । नेपाली महिला कामदार भित्र्याउने दोस्रो देश कतारमा ७ हजार १ सय ११ महिला श्रममा सरिक छन् भने अन्य विभिन्न देशमा गरेर यस आर्थिक वर्षमा ४८ हजार ९ सय ७५ महिला कामदार वैदेशिक रोजगारीमा पुगेका छन् ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।


प्रतिकृया दिनुहोस्