काठमाडौं, असार ३०- प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले हालै दर्ता गरेको नागरिकता विधेयकमा राखिएका विभिन्न प्रावधानमाथि प्रश्न उठाएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयक प्रस्तुत गरेपछि सैद्धान्तिक छलफलमा भाग लिँदै एमालेले आपत्ति जनाएको हो ।
एमाले सांसद कृष्णभक्त पोखरेलले वैवाहिक अंगीकृत नागरिकता दिने विषयमा सरकारले बिहेको भोलिपल्टै विदेशी बुहारीलाई नागरिकता दिने व्यवस्था गर्न खोजेको भन्दै आपत्ति जनाए । सांसद पोखरेलले बिहे गरेर आउने बुहारीलाई कति समयपछि नागरिकता दिने हो भन्ने बिषयमा बोल्न नहुने हो भन्दै प्रश्न गरे ।
उनले प्रश्न गरे– ‘बिहे गरेर आएको भोलिपल्टै नागरिकता दिने देश कहाँ छ नाम दिनुपर्यो । हैनभने भारतमा नेपाली चेली बिहे गरेर गएपछि नागरिकता पाउन ७ वर्ष लाग्छ । अमेरिका बेलायत जहाँको हेरे पनि ५ वर्षभन्दा अगाडि पाइँदैन । यसमा छलफल गरौँ। तर कत्ति पनि हुन्न भोलिपल्टै दिनुपर्छ भन्ने लाइनबाट विधेयक आएको छ दुनियाँको अभ्यास हेरेर एउटा निष्कर्षमा पुग्न जरुरी छ ।’
उनले जन्मसिद्ध नागरिकका सन्तानले संविधान बनेको यति लामो समयसम्म पनि नागरिकता नपाउने अवस्था हुन नहुने बताए । यस्तै गैरआवासीय नेपालीलाई नागरिकता दिने विषयमा अघिल्लो विधेयक भन्दा संकुचित व्यवस्था गरिएको टिप्पणी गरे । यस्तै संविधानमा महिलाले पाएको अधिकार कटौती हुनेगरी विधेयक आएको बताए ।
विगतमा एमालेले ल्याएको विधेयकलाई फिर्ता गर्नुपर्ने परिस्थिति नभएको बताउँदै उनले सदनबाट त्यसमा आवश्यक संशोधन गरेर पास गर्न सकिने बताए ।