
काठमाडौं, असार २३- आजदेखि साझा यातायातले काठमाडौं उपत्यकामा बिजुलीबाट चल्ने तीन वटा बस सञ्चालन गर्दैछ । बसको बिहान ११ बजे एक कार्यक्रमकाबीच शुभारम्भ हुँदैछ ।
तीन वटा बसमध्ये दुई वटा रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एअरपोर्टको रुटमा चल्ने छ भने अर्को बस लगनखेल, रत्नपार्क हुँदै बूढानीलकण्ठ रुटमा चल्ने बताइएको छ ।
साझाका यी तीन वटै बसका चालक र परिचालकमा महिला छन् । बसमा अपाङ्गता भएकाहरुले ह्वीलचियरसहित सजिलै यो बस चढ्न सक्नेछन् ।
सिटी बसको डिजाइनमा बनेको यो बस सेमी फ्लोर बस हो । यसमा ज्येष्ठ नागरिक, अशक्त र बालबालिका सजिलै चढ्न र ओर्लन सक्छन् । बसमा एक चालक र एक अपाङ्गता भएकाका लागि छुट्याइएको सिटसहित जम्मा २६ सिट रहेको छ । यस्तै, उभिएर यात्रा गर्न सजिलो होस् भन्नका लागि ह्याण्डल बार राखिएको छ ।
यस्तै, बसमा सीसीटीभी, टीभी, वाइफाई, डस्बिन र बस रोक्न विशेष खालको बटमको सुविधा रहेको छ । बसमा १ सय ६१ दशमलव २८ किलो वाटको ब्याट्रीकाे प्रयोग गरिएको छ ।
बस ४५ किलोवाटको चार्जमा ५ घन्टा चार्ज गर्दा २ सय किलोमिटर गुड्न सक्ने छ । चीनबाट ल्याउन लागिएको ४० मध्ये अहिले तीन वटा बस मात्रै नेपाल आएका छन् ।