विराटनगर, असार १७- मोरङमा आफ्नै स्कुल बसले ठक्कर दिँदा मंगलबार दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको रंगेली-७ मा रहेको माउन्ट मकालु बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा दुई विद्यार्थीको मृत्यु भएको हो ।
स्कुल छुट्टी भएपछि विद्यार्थीहरु बाहिर निस्कने क्रममा को १ क ११३० नम्बरको बस अनियन्त्रित भएर किच्दा रंगेली–७ का महादेव मण्डलका ४ वर्षिय छोरा हृतिक मण्डल र रंगेली–६ चोप्राहाका स्थानीय नरेश मण्डलकी ५ वर्षीया छोरी सोनमकुमारी मण्डलको मृत्यु भएको हो ।
हृतिकको घटनास्थलमै मृत्यु भएको थियो भने सोनमकुमारीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
यसैबीच विद्यालयको लापरवाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले बुधबार दिनभरजसो प्रदर्शन गरेका थिए ।
आक्रोशित स्थानीयले स्कुलविरुद्ध नाराबाजी गर्दै उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै सडकमा टायर बालेर प्रदर्शन गरेका थिए । आक्रोशित स्थानीयले स्कुलको दुई वटा गाडीमा तोडफोड समेत गरेका थिए ।
बुधबार पीडित पक्ष र नगर प्रमुख बडा अध्यक्षसहितको बैठकमा विद्यालयले पीडित परिवारका दुई बालबालिकालाई नगरपालिका भित्रका जुनसुकै निजी विद्यालयमा उच्च शिक्षासम्म निःशुल्क पढाइदिने भएको छ । भने परिवारलाई क्षतिपूर्ति स्वरूप ८ लाख ५० हजार रुपैयाँ राहत दिने सहमति भएको छ ।
प्रहरीले अनुसन्धानका लागि बस चालक र सहचालकलाई नियन्त्रणमा लिइएको छ ।