झापा, असार १५- झापाका विभिन्न ठाउँमा भारी वर्षा पछि आएको बाढीले सडक, पुल, कल्भर्ट लगायतका संरचना बगाउँदा विद्यालय बन्द भएका छन्।
विद्यालय जान आउन बालबालिकालाई समस्या भएपछि जिल्लाको शिवसताक्षी नगरपालिका र हल्दिबारी गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।
शिवसताक्षी नगर क्षेत्रभित्र सञ्चालित विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको शिक्षा शाखाले जनाएको छ। नगरका शिक्षा अधिकारी छवि ढकालका अनुसार बुधबारदेखि आइतबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय भएको सेतोपाटीलाई जानकारी दिए।
अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम बढ्दै गएकाले विद्यालय बन्द गरिएको ढकालले बताए। ‘यो विदा वर्षे विदाबाट कट्टा हुनेछ,’ ढकालले भने।
विद्यार्थी आउने जाने सडक डुवानमा परेका कारण विद्यालय बन्द भएको हो। बाढीले नगरका सडक, पुल, कल्भर्ट लगायतका पूर्वाधारमा क्षति पुगेको छ।
यता हल्दीबारी गाँउपालिकाले पनि पालिका भित्र सञ्चालन हुने सामुदायिक तथा संस्थागत विद्यालय अर्को सूचना नहुञ्जेल सम्मका लागि बन्द गरेको छ।
पालिका प्रमुख रविन्द्र लिङदेनका अनुसार सडक डुवानमा परेका कारण र कतिपय विद्यालयमा बाढी पसेकाले विद्यालय बन्द गरिएको हो।

















