Skip
आज : २०८३ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २९ गते


Advertisement

काठमाडौँ । ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक एवं वरिष्ठ पत्रकार कमलप्रसाद रिजाललाई रु २५ हजार राशिको मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान अर्पण गर्ने निर्णय गरेको छ ।

सो प्रतिष्ठान कार्य समितिका सदस्य इन्जिनियर अर्जुनकुमार श्रेष्ठले आफ्ना बुबाको स्मृतिमा प्रतिष्ठानमार्फत स्थापना गरेको मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार एवं साहित्यकार रिजाललाई दिने निर्णय भएको हो ।

प्रतिष्ठानका अध्यक्ष डा सदानन्द कँडेलका अनुसार राष्ट्रिय समाचार समिति (रासस)का प्रधानसम्पादक उत्तम सिल्वालको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिको निर्णयका आधारमा गोरखापत्रका पूर्वप्रधानसम्पादक रिजाललाई सो पुरस्कार दिने निर्णय भएको हो ।

पण्डित होमनाथ रिजाल र जीवमायाका सुपुत्रका रूपमा २०१५ सालमा धादिङको गङ्गाजमुना गाउँपालिका–४ गुम्दीमा जन्मिएका रिजालले मुलुकको पत्रकारिता र साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदानलाई कदर गर्दै उनलाई पुरस्कृत गर्न लागेको प्रतिष्ठानले स्पष्ट गरेको छ । गोरखापत्र संस्थानमा ३० वर्षसहित ४० वर्ष पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका वरिष्ठ पत्रकार रिजालका हालसम्म २४ वटा कृति प्रकाशित भएका छन् ।

साहित्य र पत्रकारिता क्षेत्रमा विशेष रुचि राख्ने वरिष्ठ पत्रकार रिजालले गोरखापत्रसहित कान्तिपुर, नागरिक र अन्नपूर्ण दैनिक तथा लोकान्तर डटकम, रातोपाटी डटकमलगायत विभिन्न छापा तथा विद्युतीय सञ्चारमाध्यममा दार्शनिक, आध्यात्मिक, सांस्कृतिक तथा सामाजिक विधामा कुरीति र कुसंस्कारविरुद्ध लेख, रचना प्रकाशित गर्दै आएका छन् ।

धादिङ जिल्लाको पहिलो हाइस्कुल ‘आदर्श मावि’ गजुरीका संस्थापक प्रधानाध्यापक एवं पूर्वजलस्रोत राज्यमन्त्री ठाकुरप्रसाद शर्माले शिक्षा क्षेत्रमा पुर्‍याएको ऐतिहासिक एवं प्रेरणादायी कदमलाई सम्मानसहित जीवन्त बनाउने उद्देश्यले पूर्वविद्यार्थीहरूको सक्रियतामा प्रतिष्ठान स्थापना भएको हो ।

पूर्वविद्यार्थी डा कँडेलको अध्यक्षतामा २०८१ सालमा स्थापना भएको सो प्रतिष्ठानले आफ्नो स्थापना दिवसका अवसरमा प्रतिभा सम्मानसहित शिक्षा र समाजसेवाका क्षेत्रमा उदाहरणीय एवं प्रेरणादायी भूमिका निर्वाह गर्ने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ ।

यसै सन्दर्भमा आगामी मङ्सिर ४ गते शुक्रबार गजुरीस्थित आदर्श माविमा विशेष कार्यक्रमबीच मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार रिजाल, आदर्श शिक्षासेवी पुरस्कार माणिकलाल श्रेष्ठ, युवा प्रतिभा पुरस्कार गायक एवं भ्वाइस अफ नेपाल सिजन–६ का विजेता प्रोशेश पाण्डेसहित आदर्श शिक्षक तथा एसइईमा उत्कृष्ट हुन सफल छात्रछात्रालाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ ।

विसं २०२५ मा स्थापना भई सोही वर्षदेखि प्रवेशिका परीक्षामा विद्यार्थीलाई सहभागी गराउँदै आएको आदर्श माविबाट करिब तीन हजार जनाले विद्यालय शिक्षा पूरा गरेका छन् ।

ठाकुरप्रसाद शर्मा प्रतिष्ठानका अनुसार धादिङको उक्त विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेकाहरू मन्त्रिपरिषद् सदस्यदेखि सरकारका सचिव, उच्चपदस्थ राष्ट्रसेवक कर्मचारी, सभासद्, प्राध्यापक, डाक्टर, इन्जिनियर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासम्मको नेतृत्वमा रहेर देश र जनताको सेवामा क्रियाशील छन् ।

यसैगरी, कानुन व्यवसायी, शिक्षक, कर्मचारी, उद्योगी–व्यवसायी, राजनीतिकर्मी, कलाकार, पत्रकार, समाजसेवीको भूमिकामा पनि उक्त विद्यालयका पूर्वविद्यार्थी क्रियाशील छन् ।


प्रतिकृया दिनुहोस्