काठमाडौं । सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी सादा पोशाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएको छ।
शुक्रबार कार्यालय समय सकिएपछि विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास गरिएको भन्दै काउन्सिलले यस्तो कार्यले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि प्रश्न उठाएको जनाएको छ।
पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको र अदालतको अनुमति लिएको प्रमाणसमेत स्पष्ट नभएको अवस्थामा पत्रकारलाई नियन्त्रणमा लिन खोज्नु गम्भीर विषय भएको काउन्सिलको भनाइ छ।
समाचारका विषयमा असहमति वा आचारसंहितासम्बन्धी उजुरी भए त्यसको छानबिन गर्ने जिम्मेवारी प्रेस काउन्सिलकै भएको उल्लेख गर्दै काउन्सिलले समाचारकै विषयमा प्रहरी परिचालन गर्नुको सट्टा स्थापित विधि र प्रक्रियाबाट समाधान खोज्न सरकार तथा प्रहरी प्रशासनलाई आग्रह गरेको छ।
काउन्सिलले नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न तथा कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्न माग गरेको छ।
साथै, पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित रहेर पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ।
प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको प्रवर्द्धनका लागि आफू प्रतिबद्ध रहेको काउन्सिलले जनाएको छ।


























