काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशका विभिन्न क्षेत्र अन्योल र अलमलमा रहेको बताएका छन्।
दसैँको शुभकामना सन्देश जारी गर्दै उनले राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक तथा प्रशासनिक क्षेत्रमा देखिएको अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन्।
उनले राज्य प्रणालीलाई सही दिशामा अघि बढाउन, प्रजातान्त्रिक आधार बलियो बनाउन र अर्थतन्त्र उकास्न आवश्यक रहेको बताएका छन्। साथै, लोकतान्त्रिक विधि र प्रक्रियालाई सुदृढ गर्दै राष्ट्रियता र मौलिक मूल्यको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।
भोटेकोसी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा बाह्य सहयोग लिँदा राष्ट्रिय स्वाभिमान र स्थानीय परम्परा जोगाउन कूटनीतिक चातुर्यता अपनाउन पनि उनले सुझाव दिएका छन्।
देशको कठिन परिस्थितिमा आपसी भाइचारा कायम राख्न, एकअर्काको दुःखमा साथ दिन र राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नुपर्ने उनको भनाइ छ।































