Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विद्यार्थी आन्दोलनमा जेलदेखि कांग्रेसको महाधिवेशनसम्म : सुवेदीको नयाँ राजनीतिक यात्रा काँग्रेस केन्द्रमा टेक्दै..

सुदिप बर्देवा प्रकाशित : २०८३ असोज, २० गते


Advertisement

काठमाडौं, असोज २०- विद्यार्थी आन्दोलनबाट सुरु भएको राजनीतिक यात्रा, लामो शिक्षण अनुभव र शिक्षक आन्दोलनको नेतृत्वपछि नेपाल शिक्षक महासंघका निवर्तमान अध्यक्ष लक्ष्मीकिशोर सुवेदी अब नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गर्ने तयारीमा छन्।

गएको भदौ १८ गते शिक्षक सेवाबाट अनिवार्य अवकाश पाएसँगै महासंघको अध्यक्ष पदबाट समेत अलग भएका सुवेदीले अब सक्रिय पार्टी राजनीतिलाई आफ्नो नयाँ यात्राका रूपमा अघि बढाउने भएका हुन्।

लामो समयदेखि नेपाली कांग्रेसप्रति आस्था र वैचारिक प्रतिबद्धता राख्दै आएका सुवेदीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने तयारी गरेका छन्। यससँगै विद्यार्थी आन्दोलन, शिक्षक आन्दोलन र पेशागत नेतृत्वमा बिताएको लामो अनुभवलाई उनले अब पार्टीको केन्द्रीय तहमा लैजान खोजेका छन्।

सुवेदीको राजनीतिक यात्रा भने आजबाट सुरु भएको होइन। विद्यार्थी जीवनमै नेपाल विद्यार्थी संघमार्फत राजनीतिमा सक्रिय भएका उनी विद्यार्थी आन्दोलनकै क्रममा २०४५ सालमा जेल परेका थिए। त्यसपछि २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका उनले लोकतान्त्रिक आन्दोलनमा आफ्नो भूमिका निरन्तरता दिए।

शिक्षक सेवामा प्रवेश गरेपछि पनि उनको राजनीतिक तथा सामाजिक सक्रियता रोकिएन। २०४७ सालपछि शिक्षकको पेशागत आन्दोलनमा जोडिएका सुवेदीले शिक्षक संगठनका विभिन्न जिम्मेवारी सम्हाल्दै अघि बढे। राजाको प्रत्यक्ष शासनविरुद्धको आन्दोलनदेखि २०६२/०६३ को जनआन्दोलनसम्म उनी सक्रिय रहे।

नेपाल शिक्षक महासंघ स्थापनापछि उपमहासचिव, महासचिव हुँदै अध्यक्षको जिम्मेवारी सम्हालेका सुवेदीले शिक्षक आन्दोलनका विभिन्न चरणमा नेतृत्वदायी भूमिका निर्वाह गरे। शिक्षकका पेशागत अधिकार, सेवा–सुविधा, शिक्षा सुधार तथा शिक्षकका समसामयिक सवालमा उनको सक्रियता रहँदै आएको छ।

सुवेदीको सार्वजनिक परिचय शिक्षक आन्दोलनमा मात्र सीमित छैन। सामुदायिक विद्यालयमा विज्ञान शिक्षक तथा प्रधानाध्यापकका रूपमा काम गरेका उनले कक्षाकोठादेखि विद्यालय नेतृत्वसम्मको अनुभव हासिल गरेका छन्। साहित्य अध्ययन तथा लेखनमा समेत सक्रिय उनले विद्यालय तहका पुस्तक तथा पाठ्यसामग्री लेखनसँगै शिक्षा र समसामयिक विषयमा विभिन्न पत्रपत्रिकामा लेख रचना प्रकाशित गर्दै आएका छन्।

अब भने उनको राजनीतिक यात्राले नयाँ मोड लिएको छ। शिक्षक सेवाबाट अवकाशपछि कांग्रेसको केन्द्रीय सदस्य बन्ने आकांक्षासहित अघि बढेका सुवेदीका लागि १५औँ महाधिवेशन पार्टी राजनीतिमा औपचारिक रूपमा अगाडि बढ्ने महत्वपूर्ण चरण बन्ने देखिन्छ।

यसरी विद्यार्थी आन्दोलनमा जेल जीवनदेखि लोकतान्त्रिक आन्दोलन, कक्षाकोठाको शिक्षण, शिक्षक आन्दोलनको नेतृत्व हुँदै कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवारीसम्म सुवेदीको यात्रा नयाँ राजनीतिक अध्यायतर्फ अघि बढेको छ।


प्रतिकृया दिनुहोस्