काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई निलम्बन गर्दै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिअनुसार दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरणविपरीत कार्य गरेको आरोपमा सशस्त्र प्रहरी बल, नेपालबाट कारबाहीका लागि सिफारिस प्राप्त भएपछि मन्त्रालयले उनलाई निलम्बन गरेको हो।
मन्त्रालयको २०८३ असोज १९ गतेको निर्णयअनुसार दाहाललाई निलम्बन गरी तीन दिनभित्र जाँचबुझ सम्पन्न गरेर मन्त्रालयमा प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृत तोकिएको छ।
गृह मन्त्रालयले मन्त्रालय मातहतका सबै कर्मचारीबाट हुने पदिय आचरणविपरीतका कार्य, संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी र विश्लेषण भइरहेको जनाएको छ।
कानुनविपरीत हुने जुनसुकै गतिविधि वा घटनामा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि मन्त्रालयले स्पष्ट पारेको छ। मन्त्रालयले विधिको शासन, कानुनको परिपालना तथा सार्वजनिक शान्ति सुरक्षाको संरक्षणप्रति प्रतिबद्ध रहेको जनाएको छ।
































