काठमाडौँ । रुसी ड्रोन आक्रमणपछि युक्रेनको राजधानी किएभमा निप्रो नदीमाथिका दुई प्रमुख पुलको यातायात प्रभावित भएको छ।
किएभका मेयर भिटाली क्लिट्स्कोका अनुसार दक्षिणी पुल दुवैतर्फबाट पूर्ण रूपमा बन्द गरिएको छ। प्याटन पुलमा भने एउटा लेनबाट मात्रै यातायात सञ्चालन भइरहेको छ।
दक्षिणी पुलको संरचनामा ड्रोन आक्रमण भएपछि क्षतिको अवस्थाबारे मूल्याङ्कन गर्न पुल बन्द गरिएको थियो। केही समयपछि यातायात र मेट्रो सेवा पुनः सञ्चालन गरिए पनि बिहीबार राति फेरि आक्रमण भएपछि पुल पुनः बन्द गरिएको क्लिट्स्कोले बताएका छन्।
प्याटन पुलमा भने आक्रमण भएको कुनै सूचना नआएको उनको भनाइ छ।
यसैबीच, किएभको डार्नित्स्की जिल्लामा रहेको २५ तले आवासीय भवनमा समेत आक्रमण भएको छ। आपत्कालीन सेवाका अनुसार घटनामा एक जनाको मृत्यु भएको छ भने कम्तीमा दुई जना घाइते भएका छन्।
पछिल्ला महिनाहरूमा किएभमा रुसी ड्रोन तथा क्षेप्यास्त्र आक्रमणका घटना बढिरहेका छन्।































