५ असोज, तेहरान ।इरानको रिभोलुसनरी गार्ड्सले यदि अमेरिकाले आफ्नो देशमाथि थप आक्रमण गरेमा उनीहरूले नयाँ लक्ष्यहरूमा प्रहार गर्ने तथा नयाँ हतियारहरू तैनाथ गर्ने चेतावनी सोमबार दिएको छ ।
युद्ध सुरु भएको झन्डै सात महिना बितिसक्दा पनि तेहरान र वासिङ्टनबीच गतिरोध कायमै छ, यद्यपि कुनै पनि पक्ष पूर्ण–स्तरको युद्धमा फर्कन भने इच्छुक देखिँदैनन् ।
इरानी सेनाको वैचारिक अङ्ग मानिने इस्लामिक रिभोलुसनरी गाड्र्स कोप्र्स का प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै भने, “अमेरिकाबाट नयाँ आक्रमण भएमा हाम्रो प्रतिरक्षा र जवाफी कारबाहीमा पक्कै पनि महत्त्वपूर्ण परिवर्तनहरू हुनेछन् ।” हामी युद्धभूमिमा नयाँ क्षमता भएका थप हतियारहरू भित्राउनेछौँ र यसले विश्वलाई चकित पार्ने उनले बताए ।
आफ्ना लक्ष्यहरू पनि पहिले जस्तै नहुने बताउँदै आफूसँग अहिले सम्म आक्रमण नगरिएका नयाँ लक्ष्यहरू रहेको बताउँदै गाड्र्सले आफूहरू दीर्घकालीन युद्ध का लागिसमेत तयार रहेको पनि बताए । सरकारी टेलिभिजनका अनुसार, शनिबार इरानी सेनाको केन्द्रीय कमाण्डले अमेरिकाले तेहरानविरुद्ध नयाँ कारबाहीको योजना बनाइरहेको बताएको थियो, तर यसको विस्तृत विवरण भने दिइएको थिएन ।
गत महिनाको अन्त्यमा तनाव बढेपछि हालका दिनहरूमा अमेरिका र इरानबीचको लडाइँ केही मत्थर भएको छ, यद्यपि तेहरानले होर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूमाथि छिटपुट आक्रमणहरू जारी राखेको छ । दुवै पक्षले दबाब सिर्जना गर्ने प्रयासमा उक्त जलमार्गमा एक–अर्का विरुद्ध नाकाबन्दी कायम राखेका छन् ।
हाल युद्ध यमनसम्म फैलिएको छ । त्यहाँ इरान–समर्थित हुथी विद्रोहीहरूले साउदी–समर्थित सरकारबाट थप भूभाग आफ्नो नियन्त्रणमा लिएका छन् भने राजधानी रियाद लगायत साउदीका विभिन्न लक्ष्यहरूमा आक्रमणहरू गरिरहेका छन् ।
































