४ असोज, काठमाडौँ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण गरेको दाबी गरेको छ ।
हुथीका सैन्य प्रवक्ता याह्या अल–सरीअले शनिबार रियादका ‘संवेदनशील स्थल’ तथा रेड सी तटको यान्बुस्थित सरकारी तेल तथा ग्यास कम्पनी अराम्कोका संरचनालाई लक्षित गरी ‘ठूलो संख्यामा ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोन’ प्रयोग गरिएको बताएका छन् ।
साउदी अधिकारीहरूले भने रियादतर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले रोकेर नष्ट गरेको बताएका छन् । थप आक्रमण वा मानवीय क्षतिबारे भने उनीहरूले पुष्टि गरेका छैनन् ।
शनिबार साउदी राजधानीस्थित अन्तर्राष्ट्रिय विमानस्थलनजिक इन्धन भण्डारण ट्यांकीबाट कालो धुवाँको मुस्लो उठेको देखिएको थियो । आक्रमणका कारण केही समय उडानसमेत प्रभावित भएको जनाइएको छ ।
हुथीले साउदी आक्रमणको जवाफमा आक्रमण गरेको दाबी गरेको छ । हुथीका प्रवक्ता अल–सरीअले साउदीले यमनको राजधानी सानामाथि गरेको ‘आपराधिक प्रयास’को जवाफमा आक्रमण गरिएको बताएका छन् । उनका अनुसार साउदीले पछिल्लो एक सातामा यमनमा ३ सय पटक आक्रमण गरेको थियो ।
साउदी नेतृत्वको गठबन्धनका एक अधिकारीका अनुसार बिश, ताइफ, फरासन र यान्बु सहरमा सर्वसाधारणलाई लक्षित गर्ने ‘शत्रुतापूर्ण प्रयास’लाई पनि हवाई प्रतिरक्षा प्रणालीले रोकेको थियो ।
रियादमा शनिबार पहिलोपटक हवाई आक्रमणको चेतावनीसमेत बजाइएको थियो । इरानसमर्थित हुथीले जुलाईदेखि साउदी अरबमा आक्रमण तीव्र पारेपछि राजधानीमा यस्तो चेतावनी दिइएको हो ।
अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन र सम्भावित उडान रद्द तथा अन्य यात्रासम्बन्धी अवरोधका लागि तयार रहन आग्रह गरेको छ । मन्त्रालयले साउदीविरुद्ध हुथीले नागरिक विमानस्थलसहित विभिन्न स्थानमा आक्रमण गरेको भन्दै उक्त सैन्य द्वन्द्व तीव्र रूपमा बढ्न सक्ने चेतावनी दिएको छ ।
यमनमा हुथी र साउदी अरबको समर्थन पाएको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारबीच लामो समयदेखि द्वन्द्व जारी छ । पछिल्ला महिनामा हुथीले साउदी अरबभित्रका विभिन्न लक्ष्यमा पटक–पटक आक्रमण गरेको बताउँदै आएको छ । यसै साता आफूहरूले साउदीको एउटा लडाकु विमान खसालेको दाबीसमेत हुथीले गरेको थियो ।
यसैबीच, एएफपीले यमनको गृहयुद्धमा संलग्न दुवै पक्षका सैन्य स्रोतलाई उद्धृत गर्दै शनिबारको भिडन्तमा ४८ जनाको मृत्यु भएको जनाएको छ । तीमध्ये हुथीले आफ्ना ३१ लडाकु मारिएको तथा सरकारी पक्षले १७ सैनिक मारिएको जनाएको एएफपीले उल्लेख गरेको छ ।
संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासन संगठन ९आईओएम० का अनुसार पछिल्लो द्वन्द्वका कारण विस्थापित हुनेको संख्या १ लाख ४ हजार ७ सय ९६ पुगेको छ ।
शनिबार रियादमा विस्फोटका आवाज सुनिएको र किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको एएफपीले जनाएको छ । उडानसम्बन्धी विवरण राख्ने वेबसाइट फ्लाइटराडार२४ का अनुसार विमानहरू ढिला भएका तथा केही उडान रद्द भएका थिए ।
यसअघि साउदी नागरिक सुरक्षा निकायले रियादसहित विभिन्न क्षेत्रमा सम्भावित जोखिमबारे मोबाइलमार्फत चेतावनी जारी गरेको थियो । शनिबार बिहान भने जोखिम टरेको जनाउँदै ‘अल क्लियर’ सूचना जारी गरिएको थियो ।
































