२३ भदौ, काठमाडौं । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ।
हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९।१ ओभरमा सबै विकेट गुमाएर २४६ रनमा समेटियो।
नेपालका लागि इशान पान्डेले सर्वाधिक ९० रन बनाए। उनले १०६ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ९० रन बनाएका हुन्।
त्यस्तै आसिफ शेखले ४४, दीपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ तथा गुल्शन झाले २० रन बनाएका थिए।
बलिङतर्फ हङकङका एइजाज खानले चार विकेट लिएका थिए। यासिम मुर्तजाले दुई विकेट लिँदा किन्चित शाह, नसरुल्ला राना र अतिक इक्बालले समान एक–एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २६१ रन बनाएको थियो।
































