१५ भदौ, काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीले एसीसी मेन्स प्रिमियर कपमा विजयी सुरुवात गरेको छ।
आज भएको आफ्नो पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो।
बहराइनले दिएको ८८ रनको झिनो लक्ष्य नेपाली टोलीले २१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।
नेपालका लागि ओपनर अर्जुन कुमाल ३६ रनमा नटआउट रहे। उनले ५८ बलमा ५ चौका प्रहार गरे। रोहित पौडेल १९ रनमा अविजित रहे। उनले १४ बलमा १ चौका र १ छक्का प्रहार गरे।
२५ बलमा २ चौका र १ छक्का प्रहार गरेका आशिफ शेख १८ रनमा क्याच आउट हुन पुगे। देव खनाल १० रन बनाउँदा क्याच आउट नै भए। इशान पाण्डे १ रनमा रनआउट हुन पुगे।
त्यसअघि मलेसियाको बांगीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा नेपाली टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको बहराइन ३६।२ ओभरमा ८७ रन बनाउँदा अलआउट भयो।
बहराइनलाई कम स्कोरमा रोक्न कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए। सन्दीपले १० ओभरमा ४ मेडन राख्दै १४ रन खर्चे। ललित राजवंशीले ६।२ ओभरमा १ मेडन राख्दै २० रन दिएर ३ विकेट लिए।
करण केसीले ८ ओभरमा ४ मेडन राख्दै १४ रन खर्चेर २ विकेट आफ्नो नाममा गरे। गुल्सन झा ले २ ओभरमा १ मेडन राख्दै मात्र ४ रन दिए।
फियाज अहमदले बनाएको १५ रन नै बहराइनका लागि सर्वाधिक रह्यो। मुहम्मद वासिमले १३ र अलि दाउडले १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
समूह चरणको आफ्नो दोस्रो खेलमा नेपाली टोलीले बिहीबार मलेसियासँग खेल्नेछ। आइतबार साउदी अरेबिया र आगामी मंगलबार हङकङसँग खेल्ने तालिका छ।
































