Skip

Hamro Sanchar

सन्दीपले एक महिनाको तलब बाढी पीडितलाई दिने, हरेक विकेट र बाउन्ड्रीको १५ सय बालबालिकाकाे लागि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १४ गते


Advertisement

१४ भदौ, काठमाडौं । नेपाली क्रिकेट टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछानेले मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपमा नेपाललाई प्रतिनिधित्व गर्नुअघि स्वदेशमा रहेका नेपालीप्रति भावुक सन्देश व्यक्त गर्दै सहयोगको घोषणा गरेका छन्।

नेपाल बाढि विपद्का कारण कठिन परिस्थितिबाट गुज्रिरहेको भन्दै लामिछानेले आफूहरू स्वदेशबाट टाढा भए पनि नेपालको अवस्थाप्रति आफूहरूको मन सधैं जोडिएको बताएका छन्।

लामिछानेले क्रिकेट संघ नेपाल (क्यान) बाट प्राप्त एक महिनाको तलब १ लाख ५० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्।

त्यसैगरी, एसीसी प्रिमियर कपमा नेपालले लिने प्रत्येक विकेटबापत १ हजार ५ सय रुपैयाँ र नेपाली खेलाडीले प्रहार गर्ने प्रत्येक चौका तथा छक्काबापत १ हजार ५ सय रुपैयाँ सहयोग गर्ने उनले बताएका छन्।

उनका अनुसार यसरी संकलन हुने रकम बाढीबाट प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन प्रयोग गरिनेछ। विपद्का कारण बालबालिकाको शिक्षा र भविष्य प्रभावित हुन नदिन आफूले सानो योगदान गर्न चाहेको लामिछानेले बताएका छन्।

‘हरेक विकेट, हरेक बाउन्ड्री र हरेक उत्साह नेपालका लागि’ भन्ने भावनासहित उनले मैदानमा आफ्नो शतप्रतिशत दिने प्रतिबद्धता जनाएका छन्।

लामिछानेले एसीसी प्रिमियर कपमा आफ्नो प्रदर्शनले स्वदेशमा रहेका नेपालीको अनुहारमा केही खुसी ल्याउन र कठिन परिस्थितिबीच उनीहरूलाई उत्साहित गराउन सकियोस् भन्ने चाहना व्यक्त गरेका छन्।

‘हामी स्वदेशबाट माइलौं टाढा भए पनि नेपाल सधैं हाम्रो हृदयमा छ। नेपालका लागि खेलौं, स्वदेशमा खुसी ल्याऔं,’ लामिछानेले भनेका छन्।


प्रतिकृया दिनुहोस्