Skip

Hamro Sanchar

फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १४ गते


Advertisement

१४ भदौ, काठमाडौं । पाँचथरको फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङमा जारी अन्तरराष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा काठमाडौँको चित्लाङ फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै फिदिम स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा पाँचथरका निरोज लिङ्देन, सुसन जबेगु, हितेन लिम्बू र अनिस परियारले गोल गरे । चित्लाङका तर्फबाट मिक्सो लिम्बू, चेतन थारू र किरण सुनारले गोल गरेका थिए । खेलमा पाँचथरका गोलरक्षक मिराक खजुम म्यान अफ द म्याच घोषित भए ।

यसअघि शुक्रबार भएको खेलमा आयोजक ताप्लेजुङ–११ लाई २–१ गोलअन्तरले पराजित गर्दै भारतको जर्जियन युनाइटेड फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

लाखेजात्रा पर्वको अवसर पारेर लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको उक्त प्रतियोगिता यही भदौ १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । आजको क्वाटरफाइनल खेलमा सातदोबाटो फुटबल क्लब र साबिक विजेता सलहेश युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले रु सात लाख दुई हजार र उपविजेताले रु तीन लाख ५२ हजार नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्