काठमाडौँ । मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले शानदार जित निकालेको छ।
शुक्रबार भएको खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गर्दै नेपालले मलेसियालाई २७ रनले पराजित गरेको हो। यसअघि खेलिएको पहिलो खेलमा नेपालले मलेसियालाई नौ विकेटले हराएको थियो।
दोस्रो खेलमा पहिले ब्याटिङ गर्दै नेपालले सेलानगोर क्लबको मैदानमा ४१।४ ओभरमा सबै विकेट गुमाएर एक सय ७० रन बनाएको थियो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ८६ बलमा ३ चौका र ३ छक्कासहित ६१ रनको अर्धशतकीय पारी खेलेका थिए। त्यस्तै, गुलशनकुमार झाले ६० बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४५ रन जोडे भने सन्दीप लामिछानेले १३ तथा आसिफ शेख र अर्जुन कुमालले समान १०–१० रन बनाए। मलेसियाका लागि बलिङतर्फ अकील वाहिदले चार ओभरमा ३६ रन खर्चेर चार विकेट लिएका थिए।
नेपालले दिएको एक सय ७१ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा मलेसियाको पारी ४०।१ ओभरमा एक सय ४१ रनमा समेटिन पुग्यो। मलेसियाका लागि अकिल वाहिदले १०८ बल खेल्दै ६ चौकाको मद्दतमा सर्वाधिक ५६ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। नेपालको कसिलो बलिङसामू मलेसियाका अन्य ब्याटरहरू टिक्न सकेनन्। नेपालका लागि ललितनारायण राजवंशीले तीन विकेट हात पारे भने रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र कप्तान सन्दीप लामिछानेले दुई–दुई तथा हेमन्त धामीले एक विकेट लिए।
आसन्न एसिसी प्रिमियर कपको तयारीस्वरूप यी दुई टोलीबीच अभ्यास खेलहरू भइरहेका हुन्। प्रतियोगिता यही भदौ १४ गतेदेखि मलेसियामै आयोजना हुँदैछ। प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले समूह चरणमा बहराइन, मलेसिया, साउदी अरेबिया र हङकङविरुद्ध प्रतिस्पर्धा गर्नेछ भने नेपालले आफ्नो पहिलो खेल आगामी भदौ १५ गते खेल्नेछ ।






























