Skip

Hamro Sanchar

४ दिनमा दोस्रो पटक मैदानमै ढले जमाल मुसियाला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ३ गते


Advertisement

३ भदौ, काठमाडौं । जर्मन ‘पावर हाउस’ बायर्न म्युनिखका स्टार मिडफिल्डर जमाल मुसियालाले आफूले ‘न्यूरोलोजिकल डिसफङ्शन’ अर्थात्, स्नायु प्रणालीसँग सम्बन्धित समस्याको उपचार गराइरहेको खुलासा गरेका छन् ।

पछिल्लो चार दिनभित्र खेलकै क्रममा दुई पटक मैदानमा ढलेपछि उनले आफ्नो स्वास्थ्य अवस्थाबारे स्पष्ट पारेका हुन् । २३ वर्षीय मुसियाला मंगलबार राति हाइडेनहेमविरुद्धको मैत्रीपूर्ण खेलका क्रममा मैदान प्रवेश गरेको ६ मिनेटमै ढलेका थिए ।

 

उक्त खेलमा बायर्न ४–२ गोलले विजयी भएको थियो । मैदानमा ढलेपछि उनी केहीबेर अलमल्ल र होस हराएको जस्तो देखिएका थिए । तत्कालै चिकित्सकहरूले उनलाई उपचार प्रदान गरी सहारा दिएर मैदानबाट बाहिर लगेका थिए ।

यसअघि, शनिबार राति आरबी लाइपजिगविरुद्धको ३–१ गोलको जित निकालेको खेलमा पनि उनी सोही प्रकारले मैदानमा ढलेका थिए । लगातार दुई खेलमा यस्तो घटना भएपछि चिन्तित बनेका समर्थकलाई आश्वस्त पार्न मुसियालाले इन्स्टाग्राममार्फत आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएका हुन् ।

मुसियालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई अस्थायी र छोटो समयका लागि हुने ‘एब्सेन्स सिजर्स’ भएको पत्ता लागेको छ, जुन न्यूरोलोजिकल डिसफङ्शनका कारण हुने गर्छ । यो उपचारबाट सजिलै निको हुन सक्छ ।’

उनले आफ्नो स्वास्थ्य अवस्थाप्रति चिन्ता ब्यक्त गरेकोमा समर्थकहरुलाई धन्यवाद पनि दिएका छन् । ‘यस्तो घटनाले सुरुमा जो कोहीलाई पनि डर लाग्छ, तर अहिलेका लागि यो मेरो दैनिकीको एउटा पाटोजस्तै बनेको छ । बायर्न, समर्थक र मेरो परिवारले मलाई साथ दिइरहनुभएको छ,’ उनले भने ।

मंगलबारको घटनापछि बायर्न म्युनिखका स्पोर्टिङ डाइरेक्टर म्याक्स एबरलले क्लबलाई खेलाडीको अवस्थाबारे पहिल्यै जानकारी रहेको बताएका छन् । उनले भने, ‘हामीलाई यो विषयमा पहिलेदेखि नै जानकारी छ र हामी अवस्थाप्रति सचेत छौं ।’

मुसियालाका लागि पछिल्लो समय निकै चुनौतीपूर्ण रह्यो । सन् २०२५ को क्लब विश्वकपका क्रममा उनको गोलीगाँठो भाँचिएको थियो, जसका कारण उनले सिजनको पहिलो ६ महिना गुमाउनु परेको थियो ।

लामो समयपछि मैदान फर्किएका उनले सिजनको उत्तरार्धमा उत्कृष्ट पुनरागमन गर्दै हालै सम्पन्न फिफा विश्वकपमा जर्मनीका चारमध्ये तीन खेलमा सुरुवाती रोजाइमा खेल्दै आफूलाई प्रमाणित गरिसकेका छन् ।


प्रतिकृया दिनुहोस्