Skip

Hamro Sanchar

संघीय सरकारको निर्णय मानेन तारकेश्वरले, शिक्षकहरुले दिए आन्दोलन गर्ने चेतावनी

सुदिप बर्देवा प्रकाशित : २०८३ साउन, २१ गते


Advertisement

काठमाडौं, साउन २१- नेपाल सरकारको दुईदिने सार्वजनिक बिदासम्बन्धी निर्णय कार्यान्वयन नगरेको भन्दै नेपाल शिक्षक महासंघ काठमाडौं जिल्ला समितिले तारकेश्वर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । महासंघले संघीय सरकारको निर्णय तत्काल कार्यान्वयन गरी आइतबार सार्वजनिक बिदा लागू गर्न माग गरेको छ । उनीहरुले माग पुरा नभए आन्दोलनमा उत्रिने चेतावनीसमेत  दिएका छन्।

बिहिबार, महासंघले नगर प्रमुखलाई सम्बोधन गर्दै दिएको निवेदनमा नेपाल सरकार मन्त्रिपरिषद्ले २०८२ चैत २२ गते गरेको निर्णयअनुसार प्रशासनिक कार्यालय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था राजपत्रमार्फत लागू भइसकेको उल्लेख गरेको छ। साथै, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पनि परिपत्र जारी गर्दै स्थानीय तहलाई उक्त निर्णय कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइसकेको जनाएको छ।

निवेदनमा शिक्षा नियमावली संशोधनपछि वार्षिक बिदाको व्यवस्था पनि परिवर्तन भइसकेको अवस्थामा स्थानीय तहले संघीय सरकारको नीतिअनुसार विद्यालय सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ। तर, तारकेश्वर नगरपालिकाले विद्यार्थीको सिकाइ र पाठ्यक्रम कार्यान्वयनलाई आधार देखाउँदै आइतबार पनि विद्यालय सञ्चालन गरिरहेको महासंघको भनाइ छ।

महासंघका अनुसार प्रारम्भिक चरणमा शिक्षकहरूले नगरपालिकाको निर्णयलाई सहयोग गर्दै नियमित रूपमा आइतबार पनि अध्यापन गराए। तर, अहिले देशका अधिकांश स्थानीय तहले संघीय सरकारको निर्णय कार्यान्वयन गरिसकेको अवस्थामा तारकेश्वरमा मात्रै आइतबार विद्यालय सञ्चालन भइरहनु विभेदपूर्ण भएको उनीहरूको तर्क छ।

महासंघले जेठ महिनाको अन्तिम सातामै नगरभित्रका पेशागत संघ–संस्था तथा सामुदायिक विद्यालयका शिक्षकहरूको सामूहिक हस्ताक्षरसहित प्रमुख प्रशासकीय अधिकृतमार्फत आइतबार सार्वजनिक बिदा कार्यान्वयनको माग गर्दै निवेदन दिएको जनाएको छ। तर, हालसम्म नगरपालिकाबाट कुनै सकारात्मक निर्णय वा प्रतिक्रिया नआएको भन्दै महासंघले असन्तुष्टि व्यक्त गरेको छ।

निवेदनमा संविधान, प्रचलित कानुन तथा श्रम ऐनले सुनिश्चित गरेका अधिकारको सम्मान गर्न आग्रह गर्दै संघीय सरकारको निर्णय तत्काल कार्यान्वयन गर्न माग गरिएको छ। अन्यथा शिक्षकहरूको हक–अधिकारको संरक्षणका लागि कानुनी र योजनाबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी महासंघले दिएको छ।

महासंघले संघीय सरकारको निर्णय स्थानीय तहले कार्यान्वयन नगर्दा शिक्षकमाथि असमान व्यवहार भएको महसुस भएको उल्लेख गर्दै तारकेश्वर नगरपालिकालाई तत्काल निर्णय सच्याउन आग्रह गरेको छ।


प्रतिकृया दिनुहोस्