
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–१ ले गुरु पूर्णिमाको अवसरमा वडाभित्र कार्यरत करिब दुई सय शिक्षक–शिक्षिकालाई सम्मान गरेको छ।
वडाभित्र सञ्चालित चार वटा सामुदायिक तथा पाँच वटा संस्थागत विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकालाई सम्मान गरिएको हो। सोही अवसरमा उत्कृष्ट विद्यालय र उत्कृष्ट कर्मचारीलाई समेत सम्मान गरिएको थियो।
सम्मान कार्यक्रममा बोल्दै वडाअध्यक्ष मकुन्द प्रसाद गजुरेलले शिक्षकलाई समाज र राष्ट्र निर्माणका आधारस्तम्भका रूपमा लिँदै वडाले उहाँहरूप्रति सदैव उच्च सम्मानको भावना राखेको बताए।
“शिक्षक केवल ज्ञान दिने व्यक्ति मात्र होइन, सभ्य, सक्षम र जिम्मेवार नागरिक निर्माण गर्ने अभियन्ता पनि हुनुहुन्छ। त्यसैले हाम्रो वडाले शिक्षक–शिक्षिकालाई फरक दृष्टिकोणबाट हेर्दै उहाँहरूको योगदानको सम्मान र मनोबल अभिवृद्धिलाई प्राथमिकतामा राखेको छ। शिक्षा क्षेत्रमा लगानी गर्नु भनेको भविष्यमा लगानी गर्नु हो,” अध्यक्ष गजुरेलले भने।
उनले यो सम्मानले शिक्षकहरूलाई थप जिम्मेवार र उत्प्रेरित बनाउने विश्वास व्यक्त गर्दै शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि वडाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए।
वडा नम्बर–१ ले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै शिक्षकको सम्मान, विद्यालयको प्रोत्साहन र शैक्षिक वातावरण सुधारका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।




































