
३२ असार, काठमाडौँ । फिफा विश्वकप-२०२६ अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डविरुद्ध जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ।
अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा इंग्ल्यान्डविरुद्ध पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना जारी विश्वकपको फाइनलमा प्रवेश गरेको हो।
अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले १-१ गोल गरे।
खेलको ५५औँ मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, इंग्ल्यान्डले अग्रता जोगाउन नसक्दा सेमिफाइनलबाटै बाहिरिएको छ।
खेलको ८५औँ मिनेटमा कप्तान लियोनल मेसीको पासमा फर्नान्डेलले पहिलो गोल गर्दै अर्जेन्टिनालाई १-१ को बराबरीमा ल्याएका थिए।
दोस्रो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा मेसीकै पासमा मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई २-१ को जित दिलाएका हुन्।
आजको जितसँगै सन् २०२२ को विश्वविजेता अर्जेन्टिना लगातार दोस्रोपटक फाइनलमा प्रवेश गरेको छ।
उपाधिका लागि अर्जेन्टिनाले अब स्पेनसँग खेल्नेछ। इंग्ल्यान्डले भने तेस्रो पोजिसनको लागि अब फ्रान्ससँग खेल्ने छ।






























