Skip

Hamro Sanchar

अब कन्सल्टेन्सी खोल्न २५ लाख धरौटी राख्नुपर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २४ गते


२५ असार, काठमाडौं । अबदेखि कन्सल्टेन्सी खोल्न २५ लाख धरौटी राख्नुपर्ने भएको छ ।

बालेन सरकारले शैक्षिक परामर्श (कन्सल्टेन्सी) सञ्चालनलाई थप नियमन गर्न खोजेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले कन्सल्टेन्सी सञ्चालनमा नियमन गर्न ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन)नियमावली, २०८३’ पारित गरेको हो।

नियमावलीअनुसार अब शैक्षिक परामर्श (कन्सल्टेन्सी) सञ्चालन गर्नका लागि २५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने छ। तत्कालिन शिक्षामन्त्री महावीर पुनले प्रारम्भिक मस्यौदा तयार पारेको नियमावली सरकारले पारित गरेको हो।

मस्यौदामा २० लाख रकम धरौटी राखिएको थियो। बालेन सरकारले धरौटी रकम पाँच लाख बढाएर २५ लाख पुर्‍याएको हो।

नियमावलीको अनुसूची-२ को नयाँ वर्गीकरणअनुसार अब शैक्षिक परामर्श सेवा सञ्चालन गर्नका लागि केन्द्रीय कार्यालयले मात्रै २५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने छ।

त्यस्तै, शैक्षिक मेला, प्रदर्शनी, सेमिनार गर्न प्रतिदिन प्रतिस्थान सञ्चालन गर्दा नगरपालिकामा भए २५ हजार रुपैयाँ र गाउँपालिकामा भए १० हजार रुपैयाँ शुल्क तोकिएको छ। विदेशी आयोजक भएमा एक हजार पाँच सय अमेरिकी डलर लाग्ने भएको छ।

नियमावलीमा कन्सल्टेन्सीहरूले शैक्षिक मेला गर्न शिक्षा मन्त्रालयसँग स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ।


प्रतिकृया दिनुहोस्