Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गढीमाईका मेयरसहित ४ जनाविरुद्ध २ करोड ५७ लाखको भ्रष्टाचार मुद्दाl

q

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २३ गते


Advertisement

२३ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

समनपुरघाटको नदीजन्य पदार्थ उत्खनन ठेक्कामा २ करोड ५७ लाख ६२ हजार रुपैयाँ राजस्व चुहावट गरेको आरोपमा अख्तियारले आरोपपत्र दायर गरेको हो।

मुद्दा दायर गरिएका अन्य प्रतिवादीहरूमा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुर, तत्कालीन राजस्व शाखा प्रमुख बालकिशोर राय र ठेकेदार कम्पनी भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रा।लि।का मुख्य भई कार्य गर्ने राधेश्याम साह रहेका छन्।

अख्तियारले उनीहरू चारै जनासँग जनही २ करोड ५७ लाख ६२ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ। आर्थिक वर्ष २०७६र०७७ मा समनपुर नाकाको बालुवा, गिट्टी र ग्रेभल उत्खनन तथा बिक्रीका लागि भाग्यमणी कन्स्ट्रक्सनले ३ करोड २५ लाख रुपैयाँमा ठेक्का सकारेको थियो।

सम्झौताका लागि तोकिएको म्यादभित्र बैंक भौचरसहित पूरै रकम बुझाउनुपर्ने सर्त रहे पनि ठेकेदार कम्पनीले म्याद नाघेर आंशिक रकम मात्र दाखिला गरेको अनुसन्धानबाट खुलेको छ।

ठेकेदार कम्पनीले म्याद नाघेर निवेदन दिए पनि नगरपालिकाका पदाधिकारीहरूको मिलेमतोमा म्यादभित्रै १ करोड रुपैयाँ बुझाइसकेको भन्दै झुट्टा व्यहोराको टिप्पणी स्वीकृत गरिएको अख्तियारको दाबी छ।

नियमविपरीत १ महिनाका लागि १० हजार घनमिटर मात्र उत्खनन गर्ने अस्थायी अनुमति दिइएकोमा ५४ हजार ३ सय ५५ घनमिटर नदीजन्य पदार्थ उत्खनन गराई ठेकेदारलाई ३ करोड ३२ लाख ६९ हजार ७८९ रुपैयाँ बराबरको अवैध लाभ हासिल गराएको आरोपपत्रमा उल्लेख छ।

सम्झौता बमोजिम बुझाउन बाँकी २ करोड १५ लाख ३७ हजार र मूल्य अभिवृद्धि कर वापतको ४२ लाख २५ हजार रुपैयाँ दाखिला नगरी नेपाल सरकार र नगरपालिकालाई प्रत्यक्ष नोक्सानी पुर्‍याइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

अख्तियारले नगर प्रमुख यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना, कैद र राष्ट्रसेवक भएकाले थप सजायको माग गरेको छ।

त्यस्तै, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ठाकुर र राजस्व शाखा प्रमुख रायलाई पनि कैद, जरिवाना र गलत प्रतिवेदन तयार पारेको कसुरमा सजाय माग गरिएको छ।

ठेकेदार साहलाई मतियारका रूपमा मुख्य कसुरदार सरह नै सजाय गर्न मागदाबी गरिएको छ।


प्रतिकृया दिनुहोस्