Skip

Hamro Sanchar

डोल्पाको गैरीगाउँमा बाढी घरमा पस्दा १ जनाको मृत्यु, ४ जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २१ गते


२१ असार, काठमाडौँ । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलो सहितको बाढीमा पुरिँदा एक महिलाको मृत्यु भएको छ । भने चार जना घाइते भएका छन् ।

आज बिहान करिब ३ बजे आएको बाढी घरहरूमा पस्दा स्थानीय अन्दाजी ५५र५६ वर्षीया आनन्दा विक घरभित्र सुतिरहेको अवस्थामा पुरिएकी थिइन्।

प्रहरी र स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लैजाने क्रममा मृत्यु भएको हो ।

घटनामा ६० वर्षीया जस विक, ४४ वर्षीया रेउली विक, १५ वर्षीया निरुता विक र १३ वर्षीया सिता विक घाइते भएका छन् ।

घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि रिफर गरिएको छ भने अन्य तीन जना उपचारपछि डिस्चार्ज भएका छन् ।

मृतकको आफन्त ३२ वर्षीया जुनमाया विक र २९ वर्षीय दुर्गे विक घटनाको तनावका कारण बेहोस भएपछि स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रारम्भिक विवरणअनुसार बाढीबाट एक घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने आठ घरमा आंशिक क्षति पुगेको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी माझगाउँ, जिल्ला प्रहरी कार्यालय डोल्पा, इलाका प्रहरी कार्यालय काइगाउँ, अस्थायी प्रहरी पोस्ट हुरिकोट तथा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली घटनास्थलमा खटिएको छ ।

प्रहरीले बाढीबाट भएको थप क्षतिको विवरण सङ्कलन तथा घटनाबारे अनुसन्धान गरिरहेको छ


प्रतिकृया दिनुहोस्