
काठमाडौं असार २०- नेपाल शिक्षक महासंघ काठमाडौं कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ। बैठकले शिक्षकको पेसागत विकास, शैक्षिक गुणस्तर अभिवृद्धि तथा संगठन सुदृढीकरणलाई केन्द्रमा राख्दै वार्षिक कार्ययोजना निर्माण गर्ने निर्णय गरेको छ।
बैठकले शिक्षकको पेसागत क्षमता अभिवृद्धि गर्दै विद्यार्थीहरूको शैक्षिक उपलब्धि सुधारका लागि विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने तथा महासंघका साङ्गठनिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको जनाएको छ।
यस्तै, काठमाडौं जिल्लाका सबै स्थानीय तहमा महासंघको संगठन विस्तार गरी पालिका तहमा महासंघ गठन गर्ने र त्यसमार्फत शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको छ।
बैठकले शिक्षा विकास तथा समन्वय इकाईसँग आवश्यक समन्वय र सहकार्य गर्दै सरकारद्वारा सञ्चालित शैक्षिक गुणस्तर अभिवृद्धिसम्बन्धी कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने निर्णय समेत गरेको छ।
महासंघका पदाधिकारीहरूले शिक्षकको पेसागत हक–हितको संरक्षणसँगै गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा सबै शिक्षक एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। साथै, वार्षिक कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै शिक्षक, विद्यालय र समुदायबीच समन्वयलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।































