
१९ असार, काठमाडौं । प्रधानमन्त्री तथा विभिन्न विश्वविद्यालयका कुलपतिसमेत रहेका बालेन शाहले देशका सात वटा विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरेका छन्।
आज गरिएको निर्णयअनुसार उच्च शिक्षा क्षेत्रका विभिन्न विश्वविद्यालयले नयाँ नेतृत्व पाएका हुन्।
सरकारको निर्णयअनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा। डा। भोला थापा नियुक्त भएका छन्। त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयको जिम्मेवारी किशन दत्त भट्टले पाएका छन् भने मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाल नियुक्त भएका छन्।
यसैगरी कृषि तथा वन विश्वविद्यालयको उपकुलपतिमा ऋषिराम कट्टेल चयन भएका छन्। राजर्षि जनक विश्वविद्यालयको नेतृत्व श्यामनारायण लाभलाई दिइएको छ।
अन्य नियुक्तिहरूमध्ये पोखरा विश्वविद्यालयको उपकुलपतिमा देवेन्द्र अधिकारी नियुक्त भएका छन् भने पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा सुजन बाबु मरहट्टा चयन भएका छन्।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रत्येक विश्वविद्यालयका लागि सिफारिस समितिले तयार पारेको तीन–तीन जनाको सर्टलिस्ट मध्येबाट प्रधानमन्त्री शाहले एक–एक जनालाई छनोट गर्दै नियुक्ति गरेका हुन्।
लामो समयदेखि रिक्त रहेका विश्वविद्यालय नेतृत्व पदमा नयाँ नियुक्तिसँगै अब सम्बन्धित विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा नीतिगत गतिविधिले गति लिने अपेक्षा गरिएको छ। उच्च शिक्षा क्षेत्रमा सुधार, शैक्षिक गुणस्तर अभिवृद्धि तथा विश्वविद्यालय प्रशासनलाई प्रभावकारी बनाउने चुनौती अब नयाँ उपकुलपतिहरूसामु रहनेछ ।































