
काठमाडौं । खेलसँगै समुदायमा सरसफाइ तथा सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले मनोहरा स्पोर्ट्स क्लबले फिफा विश्वकप २०२६ को अवसरमा एकदिने FAN WORLD CUP फुटबल प्रतियोगिता आयोजना गरेको छ।
प्रतियोगितामा अर्जेन्टिना, ब्राजिल, स्पेन, पोर्चुगल, जर्मनी र फ्रान्सका समर्थक टोलीहरूबीच प्रतिस्पर्धा भएको थियो। कुल ३० खेलाडी सहभागी रहेको उक्त प्रतियोगितालाई कागेश्वरी मनोहरा नगरपालिकाले सहयोग गरेको थियो।
प्रतियोगिता सुरु हुनुअघि आयोजित कार्यक्रममा बोल्दै कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले मुलपानी पाटीचौर खेलमैदानलाई मिनी रंगशालाको रूपमा विकास गर्ने कार्य अगाडि बढिरहेको जानकारी दिनुभयो। उहाँले निकट भविष्यमा उक्त मैदानलाई व्यावसायिक ग्रासरुट खेलमैदानका रूपमा विकास गरिने बताउनुभयो।
क्लबका संस्थापक कबिर शर्माले खेलले व्यक्तिलाई अनुशासन सिकाउने भएकाले यसलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। विश्वकपजस्ता प्रतियोगिताले विश्व शान्ति र आपसी सद्भाव कायम गर्न विभिन्न देशका नागरिकलाई एउटै मञ्चमा जोड्ने भूमिका खेल्ने उहाँको भनाइ थियो। युवाहरूलाई एकताबद्ध गर्न, खेलप्रति आकर्षित गर्न तथा समाजसेवामा अग्रसर बनाउन समुदायस्तरमै यस्ता क्लबहरूको आवश्यकता रहेको उहाँले बताउनुभयो।
क्लबका अध्यक्ष सौगात फुयालका अनुसार युवाहरूलाई खेलसँग जोड्दै सामाजिक कार्यमा सक्रिय बनाउने उद्देश्यले वि.सं. २०६७ सालमा क्लब स्थापना गरिएको हो। क्लबले हालसम्म पाँच संस्करणको मनोहरा कप आयोजना गरिसकेको छ। साथै, वृक्षारोपण, सरसफाइ अभियानलगायत विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै स्थानीय युवाहरूलाई सामाजिक सद्भाव र समुदाय सेवामा प्रेरित गर्दै आएको छ।
प्रतियोगितामा स्पेन विजेता तथा पोर्चुगल उपविजेता बनेका छन्।






























