
काठमाडौं, जेठ २८- काठमाडौं महानगरपालिका वडा नं.- ३, रानीबारी लाजिम्पाटमा रहेको रानीदेवी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ देखि माध्यमिक तह कक्षा ११ सञ्चालन गर्न अनुमति प्रदान गरेको छ।
महानगरपालिकाको शिक्षा विभागद्वारा जारी पत्रअनुसार विद्यालयले कक्षा ११ सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गर्दै अनुमति माग गरेको थियो। विद्यालयले प्रचलित कानुन तथा विद्यालय शिक्षा व्यवस्थापन नियमावलीअनुसार आवश्यक पूर्वाधार र मापदण्ड पूरा गरेको मूल्याङ्कनपछि अनुमति प्रदान गरिएको जनाइएको छ।
नगर शिक्षा समितिको २०८३ जेठ २७ गते बसेको बैठकको निर्णयका आधारमा विद्यालयलाई कक्षा ११ सञ्चालनको स्वीकृति दिइएको हो। महानगरपालिकाले प्रचलित शिक्षा ऐन, नियमावली तथा तोकिएका सर्तहरूको पूर्ण पालना गर्नुपर्ने शर्तसहित अनुमति प्रदान गरेको जनाएको छ।
स अनुमतिसँगै रानीदेवी माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ को पठनपाठन सञ्चालन गर्न पाउने भएको छ। अनुमति प्राप्त गरेसँगै विद्यालयले यसै बर्ष कक्षा ११ मा व्यवस्थापन (with Computer Science), मानविकी, शिक्षा र कानुन समुहको पठनपाठन संचालन गर्ने तयारी गरेको विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद गौतमले हाम्रोसंचारलाई जानकारी दिनुभयो ।
अनुभवी तथा दक्ष शिक्षकबाट अध्यापन गराइने, व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याब भएको, क्यामेराको माध्यमबाट CCTV द्वारा निगरानीमा रहेको, अतिरिक्त क्रियाकलापको व्यवस्था भएको, वैज्ञानिक, तकनीकी तथा सिर्जनात्मक गतिविधिमा जोड, योग्यतायुक्त शिक्षक–शिक्षिकाहरू, स्मार्ट बोर्डबाट अध्यापन जस्ता विशेषतासहित पहिलोपटक कक्षा ११ संचालन गर्न लागिएकोले यसबाट स्थानीय विद्यार्थीलाई उच्च माध्यमिक तहको अध्ययनका लागि थप सहजता हुने अपेक्षा गरिएको प्रधानाध्यापक गौतमले बताउनु भयो ।































