Skip

Hamro Sanchar

सर्वोच्चले दिएन रमेश लेखकलाई रिहा गर्ने आदेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १६ गते


काठमाडौं । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न आदेश दिएन।

सोमबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा रिहा गर्ने आदेश दिन अस्वीकार गरेको हो। पूर्वगृहमन्त्री लेखककी पत्नी यशोदा लेखकले तत्काल रिहा गर्न आदेश दिन माग गर्दै आइतबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

सर्वोच्च अदालतले विपक्षीलाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ। निवेदकलाई पक्राउ गर्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ ९६० को पूर्वअवस्थाको विद्यमानता रहे नरहेको समेत खुल्ने गरी बाटोको म्यादबाहेक तीन दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत जवाफ पेश गर्न आदेश दिएको हो।

यसअघि चैत १५ मा प्रहरीले पूर्वगृहमन्त्री लेखकलाई जिल्ला अदालत, काठमाडौँमा उपस्थित गराएको थियो। जिल्ला अदालतले लेखकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

यस्तै २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन पनि सर्वोच्च अदालतले झिकाएको छ। अनुसन्धानको क्रममा तयार पारिएको सक्कल मिसिल समेत पेश गर्न आदेशमा भनिएको छ।


प्रतिकृया दिनुहोस्